काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग ४३ प्रश्न सोधेको छ ।
उहाँसँग प्रश्न सोधेर मंगलबार सकिएपछि संसदको यो कार्यकालभित्रै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबारे निर्णयमा पुग्ने भएको छ ।
सोही अनुसार जबरासँग जोडिएका विषयलाई अन्तिम रुप दिन भदौ २९ गते समेत बैठक बोलाइएको छ । ‘पुरक प्रश्नका विषयमा अहिलेसम्म भएका बयानमा उल्लेख गरेका कुरा रेकर्ड हुँदैछन् । त्यो समेत अध्ययन गरेर पुन पुरक प्रश्नका लागि समय दिएर बोलाउने भन्ने कुरा भएको छ’, नवनियुक्त समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले भन्नुभयो, ‘भोली बिहान नौ बजे अर्को बैठक राखिएको छ । त्यसमा बुझ्नुपर्ने प्रमाण, उल्लेख गरेका व्यक्तिका बारेमा छलफल गरेर आवश्यक परेको खण्डमा समितिमा बोलाएर बुझ्नुपर्ने भए बुझ्ने भन्ने कुरा भएको छ ।’
त्यस्तै उहाँले प्रतिवेदन लेखनको काम भइरहेको भन्दै प्रतिवेदन कसरी लेख्ने भन्ने कुरा पनि समितिको निर्णयअनुसार नै हुने बताउनुभयो। संसदको कार्यकाल सकिन लागेको अवस्थामा जबरामाथिको महाभियोग के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा गौतमले भन्नुभयो, ‘संसदको कार्यकाललाई विचार गरेर नै निष्कर्षमा पुर्याउने भनेर भोलिसमेत बैठक बोलाइएको हो ।’