काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई रुपान्तरण गरेर नविन बनाउनुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ ।
शुक्रवार सुन्दरीजलमा नेपाली कांग्रेसका संस्थापक नेता एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०९ औँ जन्मजयन्तीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
महामन्त्री शर्माले ७० वर्षदेखि एउटा धारामा बगेको दललाई निरन्तरतामा नवीनता थपेर अघि बढाउन आवश्यक रहेको बताउनुभयो। उहाँले विगतका कमी कमजोरीलाई आत्मालोचना गरी रुपान्तरित कांग्रेस बनाउनका लागि चालिएका कदमको समीक्षा गर्न आवश्यक भएको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले कार्य गरिरहेको दल अब परिवर्तित गरेर नविन बन्नुपर्छ । यसको रुपान्तरण गर्न जरुरी छ । रुपान्तरण साँझ र बिहान जस्तो हुँदैन । समय लाग्छ । ७० वर्षदेखि एउटा धारामा बगेको दल छ । अहिले नेपाली कांग्रेसको घोषणापत्र लेख्ने जिम्मेवारी पाएको बेलामा निरन्तरतामा नवीनता ल्याउनुपर्छ । ७० वर्षको निरन्तर यात्रालाई अघि बढाउँदै नवीनता पनि अघि बढाउनुपर्छ । वर्षमा भएका कमजोरीलाई हामीले आत्मालोचना गरेर जानुपर्छ । एक वर्षमा हुन खोजेका प्रयत्नहरुमा सार्थकता किन हुन सकेन भनेर खोज्नुपर्छ । कांग्रेसलाई रुपान्तरित गरेर जाने भन्ने यो वर्षमा भएका कामहरूलाई पनि समीक्षा गर्नुपर्छ ।’
उहाँले नेपाली कांग्रेसलाई एकातिर बदलिएको बलियो कांग्रेस बनाउने दायित्व रहेको र अर्कोतिर अहिलेको राष्ट्रिय राजनीतिको प्रतिकूलताको बीचमा नेपाली कांग्रेसलाई बलियो दलको रुपमा बहुमतको लक्ष्य लिएर अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले ५ वर्षको सरकारको कुरा नभइ १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्ने बताउनुभयो ।