काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा देशलाई अग्रसर बनाउने
बताउनुभएको छ ।
मंगलवार मन्त्रालयमा नेपाल प्रेस युनियनसम्वद्ध पत्रकारहरूसँगको भेटमा पत्रकारहरूले नेपाल मिडिया काउन्सिल विधेयक र समसामयिक विषयमा मन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए।
मन्त्री कार्कीले निर्वाचन निर्धारित समयमा सम्पन्न हुने उल्लेख गर्दै निर्वाचनमा अहिलेको गठबन्धन कायम रहनेमा शंका नरहेको बताउनुभयो। उहाँले यो गठबन्धनले संविधानको, लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको चाहनालाई चाँडो भन्दा चाँडो व्यवहारमा कार्यान्वयन गरेर देखाउने बताउनुभयो ।
‘निर्वाचन निर्धारित समयमा सम्पन्न हुन्छ र यो निर्वाचनमा अहिलेको जुन गठबन्धन छ, यो गठबन्धन कायम रहन्छ। यो गठबन्धनले मुलुकलाई राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा अग्रसर गराउँछ। यो गठबन्धनले मुलुकको राजनीतिलाई सही ट्रयाकमा ल्याउन गठबन्धनको निर्माण भएको हो, उहाँले भन्नुभयो, ‘यो गठबन्धनले संविधानको, लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको चाहनालाई चाँडो भन्दा चाँडो भाषणमा, टेलिभिजनमा, दस्ताबेजमा होइन, व्यवहारमा अनुभुत हुने गरेर अघि बढाउने दृढ संकल्पका साथ अघि बढ्छ। सिट तीन आधारमा बाँडफाँट हुन्छ, न्यायोचित, सम्मानजनक र सबैले मैले जितेको छु भन्ने भावका साथ सिटको बाँडफाँट व्यवस्थित रुपले चाँडै नै हुनेछ।’
मन्त्री कार्कीले गठबन्धन भित्र आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि न्यायोचित, सम्मानजनक र सबैले मैले जितेको छु भन्ने भावका सिट बाँडफाँट कार्य सम्पन्न हुने स्पष्ट पार्नुभयो ।