काठमाडौं । मधेस प्रदेशका प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा गर्नुभएको छ । उहाँले मुख्यमन्त्री लालबाबु राउतलाई आज राजीनामा बुझाउनुभएको हो ।
मधेस प्रदेश गठन भएदेखि नै प्रमुख न्यायाधिवक्तामा नियुक्त हुनुभएका झा आज नै जनता समाजवादी पार्टीमा प्रवेश गर्दै हुनुहुन्छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले झालाई पार्टी प्रवेश गराउने कार्यक्रम छ ।
प्रमुख न्यायाधिवक्ता रहँदा झाले संघीय सरकारसित प्रदेशको अधिकार थुत्न निरन्तर कानुनी लडाइँ गरिरहे । उहाँकै सक्रियतामा सर्वोच्च अदालतमा मधेस सरकारले संघीय सरकारविरुद्ध करिब ८ वटा मुद्दा दर्ता गराएको थियो ।
झा महोत्तरीको क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ । झाले मुख्यमन्त्री राउतलाई भेटेर राजीनामा दिइसकेको र जसपा प्रवेशको तयारी भइरहेको बताउनुभएको छ ।