काठमाडौं । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक गणपूरक संख्या नपुगेका कारण स्थगित भएको छ । भारतीय सेनामा गोर्खा भर्तीसहितका विषयमा छलफल गर्नका लागि बोलाइएको समितिको बैठकमा छलफलका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बोलाएको थियो । तर बैठकमा कोरम पनि पुगेन र मन्त्री खड्का पनि उपस्थित हुनुभएन ।
२५ सदस्यीय समितिको बैठक बस्नका लागि १३ जना सदस्य उपस्थित हुनु पर्नेमा जम्मा ७ जना मात्र उपस्थित थिए । नेकपा एकीकृत समाजवादी स्थापना दिवस मनाउन र नेकपा एमाले पोलिटब्युरो बैठकमा व्यस्त रहेकाले बैठकमा कोरम नपुगेको हो ।
बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको समिति सभापति पवित्रा निरौला खरेलले बताउनुभयो ।
भारत सरकारले अग्निपथ योजनाअनुसार नै गोर्खा भर्तीका लागि सहजीकरण गरिदिन आग्रह गरे पनि यसबारे नेपालमा विस्तृत छलफल हुन सकेको छैन । त्यसमाथि छलफल गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बोलाइएको थियो, तर गणपूरक संख्या नपुगेर बस्न नसकेको हो ।
यससँगै तत्कालका लागि भारतीय सेनामा नेपाली युवाको भर्ती स्थगित भएको छ ।