Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

हरितालिका तीजको ऐतिहासिक महत्त्व र बदलिँदो स्वरूप

हरितालिका तीजको ऐतिहासिक महत्त्व र बदलिँदो स्वरूप

  • मंगलवार, भाद्र ७ २०७९

  • 3.3K
    SHARES

  • हरितालिका तीजको ऐतिहासिक महत्त्व र बदलिँदो स्वरूप
    काठमाडौं । हरितालिका तीज हिन्दु महिलाहरूको महान् पर्व मानिन्छ । अझैँ हरितालिका तीजको व्रत हिन्दु धर्ममा सबैभन्दा ठुलो व्रत मानिन्छ । यो तीजको पर्व भाद्र महिनाको शुक्ल तृतीयाको दिन धूमधामसँग मनाइन्छ । यस व्रतलाई ‘गौरी तृतीया’ पनि भनिन्छ ।  मुख्यरूपले सौभाग्यवती महिलाहरूद्वारा यस पर्वलाई मनाइन्छ भने कम उमेरकी युवतीहरूका लागि पनि हरितालिका व्रत उत्तिकै श्रेष्ठ मानिएको छ । नेपाली बृहत् शब्दकोशले तीजलाई ‘नारीहरूले समृद्धिका निम्ति धार्मिक परम्पराअनुसार शिव पार्वतीको उपासना र पूजा गर्ने दिन’ भनी अर्थ्याएको छ । 
     
    हिन्दु नारीहरूको धर्मप्रति अटुट आस्था र विश्वासलाई प्रतिबिम्बित गर्ने यस पर्वमा आफ्ना पतिको सु–स्वास्थ्य, दीर्घायु तथा आदर्श दाम्पत्य जीवनलाई आफ्नो सौभाग्य ठानेर त्यसैका लागि उपवास बसी पूजा–आराधना गरिन्छ । हरितालिका तीजमा भगवान् शिव, माता गौरी एवं गणेशजीको पूजा–आराधनाको महत्त्व रहेको छ । यो व्रत निराहार एवं निर्जला भई तथा रात्रि जाग्राम गरी नाचगानको साथ गर्ने गरिन्छ ।
     
    ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी हुन्छ । पौराणिक प्रसंगअनुसार भाद्र शुक्ल तृतीयाको दिन पर्वतराज हिमालयकी सुपुत्री पार्वतीलाई विष्णुसँग निश्चय गरिएको विवाहबाट जोगाउन उनका साथीहरूले हरण गरेर लुकाएका कारण यस दिनलाई हरितालिका भनिएको हो ।
     
    हरितालिकाको लोकप्रसिद्ध नाम ‘तीज’ हो । यो विशेषगरी नारीहरूले मनाउने पर्व हो । धार्मिक रूपमा तीज अन्तर्गत उमामहेश्वरको पूजा गरी निराहार व्रत बस्ने र भोलिपल्ट व्रतको उद्यापन गरेर भोजन गर्नेसम्मका कृत्यहरू पर्दछन् । तीजमा निराहार व्रत बसी पार्वतीसहित भगवान् शिवको पूजा–आराधना गर्ने नियम छ । 
     
    यसका साथै तीजमा दरका रूपमा विशेष खानपान, नाचगान र मनोरञ्जन समेत गरिन्छ । यो पर्व नेपाल, भारतलगायत हिन्दुहरूको बसोबास भएका अन्य मुलुकमा समेत मनाइन्छ । तीजमा मीठामीठा परिकार आफैंले पकाएर आफन्तहरूलाई बोलाएर आफ्नै मिहिनेतको फल खाने र खुवाउने चलन छ । यस्तै नयाँ कपडा तथा गरगहना जोरजाम गर्ने पर्वका रूपमा पनि तीज अगाडि रहेको छ ।
     
    नेपाली समाजमा प्राचीन कालदेखि नै तीजलाई महत्त्वपूर्ण पर्वका रूपमा लिने गरेको पाइन्छ । बाल्यकालमै विवाह भएर टाढा पुगेका छोरी–चेलीहरूलाई घरसम्मै माइती लिन जाने,  माइतमा एकसाथ भेला हुने,  रमाइलो भेटघाटबीच मीठो एवं स्वादिष्ट दर खाने,  व्रत बसी सामूहिक पूजा गर्ने र नाचगानका माध्यमले आफ्ना दुःखसुखका पिर मर्का व्यक्त गर्ने अवसर तीजले नै जुटाउँछ ।
    यस पर्वलाई पतिपत्नीबीचको सम्बन्ध प्रगाढ बनाउने, आपसी सहयोगको भाव प्रत्यक्ष रूपमा व्यक्त गर्ने, उमामहेश्वरको पूजाद्वारा पतिपत्नी एक–अर्काका पूरक भएको प्रमाणित गर्ने,  ईश्वर–उपासनाद्वारा इच्छाएको फल प्राप्त गर्ने जस्ता अनेकौं प्रेरणाहरू तीज पर्वबाट प्राप्त गर्न सकिन्छ । यो पर्व सामाजिक पक्षसँग पनि जोडिन पुग्छ । घरमा सासू–बुहारी र नन्द–भाउजूबीचको सम्बन्ध पनि प्रगाढ नै हुनुपर्छ भन्ने यसले सन्देश दिन्छ । 
     
    पारिवारिक द्वेष हुनबाट विमुख गराउने शिक्षा पनि यस पर्वबाट प्राप्त गर्न सकिन्छ । यस्तै आफ्नो घरमा आश्रित व्यक्तिहरूलाई जोड्ने प्रयत्न गर्नु र नन्दआमाजू, फुपूदिदी र हजुरदिदीहरूलाई, सानीमा, ठुलीआमा एवं वरपरसम्मका इष्टमित्र र आफन्तहरूलाई बोलाएर उदार भावका साथ खानपान तथा रमाइलोले भेटघाट भए जति सबैको मन प्रशन्न भई आत्मीयपनको विकास हुनुले व्यावहारिक पक्षमा पनि एक–आपसमा सहयोग एवं सहकार्यको भावना जागृत हुन्छ ।
     
    तीजको धार्मिक पृष्ठभूमि
    भाद्र शुक्ल पक्षको तृतीया तिथिमा पार्वतीले भगवान् शिवजीलाई पति पाऊँ भनी गरेको व्रतबाट तीजको परम्परा चलेको पाइन्छ । जब पार्वतीको चिन्तन, ध्यान, पूजा, उपासना, जप, तप सम्पूर्ण महादेवमा केन्द्रित थियो, उसबेला नारदको याचनाअनुसार पिता पर्वतराज हिमालयले भगवान् विष्णुसँग उनको विवाह निश्चय गर्दछन् ।
     
    पिताजीले आफ्नो इच्छा विपरीत भगवान् विष्णुसँग विवाह गरिदिने निश्चय गरेको थाहा पाएपछि पार्वतीलाई असह्य पीडा भयो । उनले आफ्नो वेदना सखीहरूलाई सुनाइन् । सखीहरूले पार्वतीलाई लुकाउने सल्लाह गरे र हरण गरी जंगलमा पुर्‍याए। पार्वती हराएको सूचनाले पर्वतराजको दरबारमा भने हाहाकार भयो । यसरी सखीहरूले हरण गरेर लुकाएको अवस्थामा पार्वतीले आशुतोष भगवान् शिवजीको तपस्या गरिन् । 
     
    उनले बालुवाको शिवलिंग बनाई पूजा गरिन् र ‘ॐ नमः शिवाय’ मन्त्रद्वारा भगवान् शिवजीलाई प्रसन्न गराई वरदान स्वरूप उनै भगवानलाई पतिका रूपमा प्राप्त गरिन् । यस प्रकार पार्वतीले सिद्ध गरेको पूजालाई हरितालिका पूजा भन्न थालिएको हो ।
     
    व्रत बस्ने दिन
    तीजमा विवाहितता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् । व्रतको समयमा महिलाहरूले तीजको व्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण–ब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ । 
     
    यस दिन पानीसम्म पनि नखाई व्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरू महादेवको पूजा आराधना पश्चात् फलफूल ग्रहण गर्दछन् । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ ।
     
    सामाजिक महत्त्व
    नेपाल कृषिप्रधान मुलुक हो । बर्खाभरि  काम गरेर बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा तीज मनाउने गरिन्छ । आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्छ । बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइती लिएर फर्कने प्रचलन छ, जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ । विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुखदुखका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ ।
     
    सांस्कृतिक महत्त्व 
    नेपालमा रहेका हिन्दु समुदायले मनाउने तीज पर्वलाई वर्तमान समयमा हिन्दुले मात्र नभएर अन्य जातीले पनि मनाउन थालेको पाइन्छ । तीजलाई महिलाको रमाइलो पर्वका रूपमा समेत लिइने भएकाले युवतीहरू पनि यसमा रमाउँछन् । कामबाट केही समय अवकाश लिँदै परिवार, साथीभाइ जमघट, घुमघाम, नाचगान यो पर्वको अर्को विशेषता बन्दै छ । 
     
    तीजमा गीत–संगीतको विशेष महत्त्व रहन्छ । महिलाहरू विद्युतीय उपकरण र साधन नहुँदा समूहमा भेला भई गीत गाउँथे भने अहिले रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीत र नृत्य गुञ्जिन थालेका छन् । तीजका गीतमा छोराछोरीबीचको विभेद, पीडा, सासू बुहारीको कचकच, दुःख, इष्र्या आदि विषय समावेश हुन्थे तर अहिले तीज गीतका विषय पनि परिवर्तन भएका छन् । सांस्कृतिक मान्यता स्वरूप महिलाहरू गीत गाउँदै नजिकैको मन्दिर वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुञ्जाउँछन् । चुल्हो–चौको एवं घरधन्दाको व्यस्ततामै अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर आफ्नो व्यथा पोख्छन् । 
     
    तीजको बदलिँदो स्वरूप
    समयको परिवर्तनसँगै तीज गीतका विषयवस्तु पनि परिवर्तित हुँदै गएका छन् । पछिल्ला दिनहरूमा महिला अधिकारका विषय, नारी चेतनाका सन्दर्भ, महिला हिंसा विरुद्धका आवाज तीजमा घन्किन थाले । तीज गीतका माध्यमबाट लैङ्गिक समानताका आवाज उठ्न थाले । नारीहरूमा चेतनाको स्तर वृद्धि हुँदै जानु समाज परिवर्तनको महत्त्वपूर्ण पक्ष हो । 
     
    तीज पर्वको नाममा विकृतिमूलक क्रियाकलाप पनि बढ्दै गएका छन् । अहिले टोलटोलमा समूह बनाएर एक महिनाअघिदेखि नाचगान र खानपिनका कार्यक्रम संचालन गरिन्छन् । कतिपय संघसंस्थाले तीज प्रतियोगिता पनि आयोजना गर्छन् । यसले तीजको खास अर्थ र महत्त्वलाई मारेको मात्र छैन, संस्कार र संस्कृतियुक्त तीजलाई भड्किलो र उत्ताउलो बनाउँदै लगेको छ ।
     
    महिना दिन अघिदेखि दर खाने नाममा महँगा गहना, कपडाको प्रदर्शन गर्ने, होटेल र पार्टीमा रमाउने क्रियाकलाप यस पर्वका असुन्दर पक्ष हुन् । तीज गीतका नाममा अश्लील र द्विअर्थी शब्द प्रयोग हुन थालेका छन् ।
     
    तीजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिष्कृत गर्दै लानुपर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ । बढ्दै गएको आडम्बरी र विकृत पक्षलाई नियन्त्रण गरेर तीजलाई सांस्कृतिक पर्वका रूपमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै लैजान जरूरी छ । 


    मंगलवार, भाद्र ७ २०७९०५:२९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij