मुकुन्द भण्डारी, काठमाडौं । देशको भ्रष्टाचार मध्ये ८० प्रतिशतजति दोष नेतामाथि थोपरेर बाँकी हामी सबै सुशासनका चौखिल्य बन्ने हतारमा छौं। तर कुन वर्ग भ्रष्टाचारमा कति संलग्न छ भन्ने विभिन्न तथ्यांक हेर्ने हो भने राजनीतिक दलका नेताभन्दा अरु वर्ग समुदायका व्यक्तिहरू धेरै संलग्न भएको देखिन्छ।
ट्रान्सपेरेन्सी इन्टरनेशनल (IT), लोकसेवा आयोगका वार्षिक प्रतिवेदन, र सञ्चारमाध्यमका आधारमा हेर्दा दलका नेताहरूले ठेक्का कमिसन, पदाधिकारी नियुक्ति, नीतिगत भ्रस्टाचार, पार्टी कोषमा अनियमितता जस्ता अनिमितता गरेको पाइन्छ । यस्ता राजनीतिक भ्रष्टाचार प्रायः देखिने भए पनि, यसमा प्रत्यक्ष रूपमा लाभ लिनेमा भने प्रशासन र निजी क्षेत्र पनि जोडिएका हुन्छन्। भ्रष्टाचारमा कुन वर्ग वा समुदायको संलग्नता कति प्रतिशत छ भनेर विभिन्न अध्ययनहरूले यस्तो देखाएका छन्।
क– राजनीतिक दलका नेता स् ४–१०%
ख– प्रशासन, प्रहरी र न्यायालय : १५–२०%
ग – उद्योगपति, व्यापारी, नागरिक तथा बिचौलियाबाट : २५–३५% भ्रष्टाचार भएको देखिन्छ।
यी अंकहरूका आधारमा नेपालको कुल भ्रष्टाचार ५०– ५५% वरिपरि पुगेको पाइन्छ। विश्व मापनअनुसार, ५९% भन्दा माथि पुगेको अवस्था चरम भ्रष्टाचारको सूचक मानिन्छ। नेपालकै हाराहारीमा भ्रष्टाचार हुने देशको सङ्ख्या पनि विश्वमा धेरै छन्। त्यसैगरी नेपालमा भन्दा बढी चरम भ्रष्टाचार हुने देश पनि २०–२५ वटा छन्। भ्रष्टाचार नियन्त्रणमा अत्यन्त सफल मानिने चीनमा पनि भ्रष्टाचारको स्तर २५–२६% रहेको पाइन्छ। त्यहाँ दोषी ठहरिएकालाई सिधै मृत्युदण्ड (फाँसी) दिने कानूनी व्यवस्था छ।
अब नेपालको सन्दर्भमा हेर्दा, यी सबै भ्रष्टाचारको समन्वय र सञ्चालन गर्ने मुख्य भूमिका ब्युरोक्रेसी अर्थात् १५ प्रतिशत प्रशासनिक तहकै हातमा रहेको देखिन्छ। केवल ४–५ जना चरम भ्रष्टाचारी नेताका कारण सबै राजनीतिक दल र तिनभित्रका सम्पूर्ण नेतालाई एउटै खाल्टोमा हाल्नु कत्तिको न्यायोचित हो ? यो हामीले विचार गर्नुपर्ने पक्ष हो ।
तर एउटा कुरा स्पष्ट छ— २००७ साल भन्दा अगाडि राणा शासनका बेलामा पनि भ्रष्टाचार हुन्थ्यो । तर त्यतिबेला भ्रष्टाचारको विवरण सार्वजनिक हुने अवस्था थिएन। अहिले २०८२ सालसम्म आइपुग्दा पनि सकारात्मक रूपमा नियन्त्रण हुन सकेको छैन। तर सार्वजनिक गर्ने निकाय तथा व्यवस्था भने प्रभावकारी बन्दै गएको छ। भ्रष्टाचार पहिला पनि हुन्थ्यो। अहिले पनि भइरहेको छ फरक यति हो कि पहिला पहिला निकै न्यून मात्रै सार्वजनिक हुन्थ्यो भने अहिले धेरै सार्वजनिक भएको छ । धेरै सार्वजनिक भएकै आधारमा धेरै भ्रष्टाचार भएको छ भन्न नमिल्ला। तर भ्रष्टाचारले निरन्तरता पाउनुमा केवल नेता मात्र जिम्मेवार छैनन्, हामी पनि छौँ ।
हामी त्यस्ता नागरिक हौं — घरको छतबाट बाटोमा फोहोर फाल्छौं र त्यसपछि स्थानीय पालिकालाई गाली गर्छौं। सरकारी कार्यालयमा गएर घुस दिएर आफ्नो काम गराउँछौं, अनि फर्किएर भ्रष्टाचारको विरोध गर्छौं।
चुनावमा त्यही नेतालाई ‘महान्’ भन्दै जिताउँछौं, अनि आफ्नो स्वार्थ नपुरा भएपछि ‘खलनायक’ बनाउँछौं। हामीले अझै ख्याल गरेका छैनौं, “घुस दिने र घुस लिने दुबै देशका सत्रु हुन्।” यदि हामीले भ्रष्टाचारको जरो नपहिल्याई टुप्पो काट्ने प्रयास मात्र गर्यौं भने यसको समाधान कहिल्यै सम्भव हुँदैन। राणा शासनदेखि सुरु भएको ब्युरोक्रेसी प्रणालीलाई निरन्तरता दिने र घुसखोरीलाई मौन स्वीकृति दिने हामीले अब आत्ममूल्यांकन गर्नैपर्छ।
अहिले सेवानिवृत्त कर्मचारी, प्रहरी, न्यायाधीश, व्यापारी र बिचौलिया नागरिकहरू आफैं भ्रष्टाचारबाट मोटाएका छन्, तर आज उनीहरू नै सुशासनको नारा लगाउँदै, दोष भने केवल ४% मा पर्ने नेतामाथि थोपर्दै छन्। यसरी आफूहरूलाई जनताको नजरमा “इमानदार” र “भगवान्” देखाउने नाटक धेरै चलेको छ, अब बुझ्न ढिला नगरौं ।
आज देशमा “भ्रष्टाचार” भन्ने एउटा फोबिया प्रत्येक नेपालीको दिमागमा घुसाइएको छ। यसैको नाममा देशलाई मिनी गृहयुद्धतिर धकेल्ने जोखिमपूर्ण मानसिकता फैलिँदै गएको छ— जुन भ्रष्टाचारभन्दा पनि खतरनाक भाइरस बन्न सक्छ। २००७ सालदेखि २०७२ सालसम्म देशले व्यवस्था परिवर्तन, माओवादी युद्ध, शाही शासन, नयाँ संविधान निर्माण, भूकम्प, कोरोना महामारी, जस्ता चुनौती पार गर्यो। २०७८ पछिल्लो तीन–चार वर्षमा केही सुधारका संकेत देखिन थालेका थिए। याद गरौं, नेपाल सिङ्गापुर र स्विजरल्यान्डबाट इथियोपिया बनेको होइन, बरु इथियोपियाको स्तरबाट विकासोन्मुख दिशातिर अघि बढेको देश हो।
यो कुरा राष्ट्रिय तथ्यांक विभाग, विश्व बैंक, UNDP/ IMF जस्ता संस्थाहरूका आधिकारिक तथ्यांकहरूले पनि पुष्टि गर्छन्। तर केही डलरका लोभमा सामाजिक सञ्जाल र मिडियामा नकारात्मक भाष्य फैलाउने “स्टन्टबाज तथा नक्कली बुद्धिजीवीहरू” ले देश डुबिसक्यो भनेर भय फैलाइरहेका छन्। त्यसैको असरले आज देशलाई अस्थिरताको चपेटामा ल्याएको छ।
अब पनि यदि हामीले यथार्थ नबुझी हावाको तालमा क्रान्तिकारी बन्ने खेल खेल्यौं भने, भगवान् विष्णु आफैं अवतार लिएर आए पनि भ्रष्टाचार र कुशासनको अन्त्य सम्भव हुने छैन।
त्यसैले, नकारात्मक सोच मात्र होइन, सकारात्मक र नकारात्मक दुबैको मिलनबिन्दुबाट देशलाई सहि बाटोमा लैजाने उपाय खोजौं। नत्र भने, “न रहेगा बाँस, न बजेगा बाँसुरी” भन्ने उखानजस्तै, हामी सबैले अकल्पनीय र असह्य विपत्तिको सामना गर्नुपर्ने अवस्था आउनेछ।