काठमाडौं । सप्तरीमा तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरी तस्कर समूहबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर गरेका छन् ।
जिल्लाको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा मंगलबार दिउँसो भारतबाट ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन गएका प्रहरीविरुद्ध तस्करको समूहले आक्रमण गरेपछि प्रहरीले हवाइ फायर गरेको बताउनुभयो।
तस्करहरुले गरेको ढुंगा प्रहारबाट तीन जना प्रहरी पनि घाइते भएको उहाँले बताउनुभयो । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । भारतबाट सामान तस्करी गरेर एक घरमा राखिएको सूचना पाएपछि प्रहरीको टोली पुगेको थियो । ती घरको खनतलासी गर्न नदिएर प्रहरीमाथि नै ढुँगा प्रहार गर्दा प्रहरीले हवाई फायर गरेको काफ्लेले बताउनुभयो ।
अहिले सुरक्षाकर्मी ती सामान नियन्त्रणमा लिएको र यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।