काठमाडौं । सांसद एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनमा राष्ट्रपति विद्यादेवि भण्डारीले दुःख व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रपति भण्डारीले लेख्नुभएको छ, ‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं। म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’
क्यान्सर पीडित गिरीको अवस्था बुझ्न राष्ट्रपति भण्डारी हिजो मेडिसिटी अस्पताल पुग्नुभएको थियो । क्यान्सर पीडित गिरीको गएराति निधन भएको हो। उहाँको आजै अन्त्येष्टि गरिने भएको छ।