काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनबीचमा पहिले प्रतिनिधि सभाको सिट बाँडफाँट हुने बताउनुभएको छ ।
नेपाल जेसिसको कार्यक्रममा गोरखा पुगेका पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले प्रतिनिधि सभाको सिट बाँडफाँट भएपछि मात्र प्रदेश सभाको हुने जानकारी दिनुभयो ।
प्रचण्डले पाँच दलीय सत्ता गठबन्धनले सिट बाँडफाँटको कुरा केही समयमा टुङ्गोमा पुर्याउने दाबी गर्नुभयो । उहाँले स्थानीय तह झैँ यसपटक हतार नहुने पनि दाबी गर्नुभयो ।
मंसिर ४ गते हुने निर्वाचनमा सबै पार्टीलाई न्यायोचित हुनेगरी सिट बाँडफाँट हुने उहाँको भनाइ छ । उहाँले डा. बाबुराम भट्टराई अहिले माओवादी केन्द्रको निर्वाचन चिह्नमा लड्ने र निर्वाचनपछि मात्र पार्टी एकताका बारेमा छलफल हुने बताउनुभएको छ ।
अहिले नै बाबुराम भट्टराईसँग पार्टी एकता नहुने स्पष्ट पार्दै उहाँले एउटा बलियो समाजवादी केन्द्र बनाउने छलफलबारेमा छलफल अघि बढेको उल्लेख गर्नुभयो । उहाँले अहिले को कहाँबाट लड्ने भन्नेबारे केही कुराकानी नभएको भन्दै अहिले मिलेर निर्वाचनमा जाने मात्र कुरा भएको जिकिर गर्नुभयो ।