काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र उत्तर कोरियाका राजदूत जो योङ मेनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
राजदूत जो योङ मेन मन्त्री कुँवरलाई भेट्न बिहीबार मन्त्रालयमा पुगेका थिए । उनीहरूबीचको भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा छलफल भएको थियो । नेपाल र उत्तर कोरियाबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगलाई निरन्तरता दिने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटमा मन्त्री कुँवरले उत्तर कोरियाले नेपाललाई पटक–पटक गरेको सहयोगको लागि धन्यवाद दिनुभएको थियो। त्यस्तै राजदूत मेनले नेपालमा लगानी गर्न आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञा प्रक्रिया सहज बनाइदिन मन्त्री कुँवरसँग आग्रह गरेका थिए ।
नेपालमा ८ वटा उत्तर कोरियाली कम्पनीले लगानी गरेका छन् । अस्पताल, होटल, रेष्टुरेन्ट, सफ्टवेयर डेभलपमेन्ट कम्पनीमा लगानी गरेका छन् । लगानी गर्न आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञामा समस्या परेको भन्दै त्यसका लागि सहजीकरण गरिदिन राजदूत मेनले आग्रह गरेका हुन् ।