काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउनु संविधानको अधिकार प्रयोग गरेको बताउनुभएको छ ।
नागरिकता विधेयकमा राखिएका अनुचित प्रावधानलाई पुर्नविचार गर भनेर संसद्लाई राजनीतिक दल सरकार र संसदलाई आग्रह गरेको बताउँदै नेता भट्टराईले राष्ट्रपतिको यो कदमको प्रसंशा गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै राष्ट्रपतिको उक्त कदमको विरोध भइरहेको प्रसंगमा नेता भट्टराईले विधेयक फिर्ता पठाउनुअगाडि महान्यायधीवक्ता, कानुनमन्त्री र प्रधानमन्त्रीसमेतसँग परामर्श गरेकाले राष्ट्रपतिले गरेको कदम ठिक छ भन्नेको पनि संख्या धेरै रहेको दाबी गर्नुभयो ।
केहि व्यक्तिले गरेको विरोध र असन्तुष्टिको कुनै अर्थ नरहेको र यो संविधानसम्मत रहेको स्पष्ट पार्दै राष्ट्रपतिलाई विवादमा पार्ने काम गलत रहेको बताउनुभयो ।
राष्ट्रपतिले यहि आइतबार साँझ नागरिकता विधेयक फिर्ता पठाउनुभएको हो । प्रतिनिधिसभा र राष्ट्रियसभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो । तर उहाँले उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएको भन्दै फिर्ता पठाउनुभएको हो ।
विधेयक फिर्ता भएपछि विभिन्न टिकाटिप्पणी भइरहेका छन् । यस्तै आजको प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिबाट पुनर्विचारको लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै नेता भट्टराईले आगामी निर्वाचनमा एमाले कसैसँग पनि तालमेलमा नजाने बताउनुभएको छ । पाँचदलीय गठबन्धन एमालेसँग डराएर अन्य दललाई पनि थप्ने तयारीमा रहेको उहाँले आरोप लगाउनुभयो ।
गठबन्धनमा रहेका कुनै पनि दलहरुसँग सहकार्यको सम्भावना नरहेको तर गठबन्धन बाहिरका दलहरुले आफना मुद्दा र प्राथमिकताहरुमा सहमती जनाउछन् भने कतिपय आंशिक ठाउँमा तालमेल हुन पनि सक्ने संकेत गर्दै नेता भट्टराईले मुख्य रुपमा एमालेले एक्लै गठबन्धनको सामना गर्ने स्पष्ट पार्नुभयो ।