काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता अनिल झाले सरकारमा जाने कुरामा आफूलाई केहि जानकारी नभएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका झाले प्रधानमन्त्रीसँग भेटघाट छलफल भइरहे पनि लोसपा सरकारमा जाने भन्ने विषयमा ठोस सहमती भइनसकेको बताउनुभयो ।
लोसपा सरकारमा जाने भन्ने चर्चा र अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको प्रसंगमा नेता झाले यस्तो स्पष्टिकरण दिनुभएको हो ।
आगामी मंसिर ४ मा तय भएको संघ र प्रदेशको निर्वाचनमा गठबन्धनमा जाने कुरा पनि भइरहेको तर टुङगो लागिनसकेको बताउँदै नेता झाले एक्लै लड्न परे पनि तयार रहेको बताउनुभयो ।
निर्वाचनमा पहिलो प्राथमिकता आफ्नो दल, मुद्दा र एजेण्डाहरु नै रहेकाले जस्ले आफूहरुको एजेण्डा र मुद्दालाई प्राथमिकता र स्थान दिन्छ त्यहि दलसँग तालमेल गरेर निर्वाचनमा जाने नेता झाको भनाइ छ ।
झाले भन्नुभयो, ‘सत्तागठबन्धन र बाहिरका दल एमाले सबैसँग संवाद जारी छ, लोसपा निर्वाचनमा जान्छ, लोसपा उहिसँग जान्छ, जो सँग बढी हित हुन्छ, कार्यकर्ता, नेता र एजेण्डालाई जहाँबाट बढी फाइदा हुन्छ, संरक्षण हुन्छ उहिसँग लोसपा निर्वाचनमा तालमेलमा जान्छ ।’