काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एमालेसँग एक्लै चुनाव लड्न सक्ने कोहि पनि नभएको बताउनुभएको छ ।
गठबन्धन बिना एक्लै चुनावमा उभिन नसक्ने दललाई दल नै भन्न नमिल्ने पनि उपमहासचिव रिमालको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै रिमालले एमालेले गठबन्धनलाई ध्यान नै नदिएर मात्रै जनताले विश्वास गर्ने मुद्दा र एजेण्डालाई बोकेर अगाडि बढेको र एजेण्डाबिहिन गठबन्धनलाई हराउने दाबी समेत गर्नुभयो ।
कुनै पनि उदेश्य र एजेण्डा नभएका सत्ता गठबन्धनको अगाडि एमालेले भोट पाउने र जनताको विश्वास जित्ने उपमहासचिव रिमालको विश्वास छ ।
उपमहासचिव रिमालले त्याग, लोकप्रियता, निष्ठा र इतिहास हेरेर टिकट दिनुका साथै नयाँ अनुहारलाई पनि अवसर दिने बताउनुभयो । जनताले पनि नयाँ अनुहार खोजेको उहाँको भनाइ छ ।