काठमाडौं । नेकपा एमालेका सचिव टोप बहादुर रायमाझीले संघ र प्रदेशको निर्वाचनमा आफूहरुका एजेण्डालाई मान्ने दलहरुसँग तालमेल हुन सक्ने बताउनुभएको छ । पार्टीले उठाएका मुद्दा, माग र एजेण्डामा कुलै दल आउछन् भने तालमेल हुन सक्ने नभए एमाले केन्द्रिय स्तरमा एक्लै लड्ने नेता रायमाझीको भनाइ छ ।
स्थानीय रुपमा कहिकतै तालमेल हुन सक्ने संकेत गर्दै नेता रायमाझीले राष्ट्रिय रुपमा भने एजेण्डा नमिल्ने दलसँग तालमेल नगरी आफ्ना अलग्गै कार्यक्रम, घोषणापत्रसँगै राष्ट्र र विकाशको सम्वृद्धिको एजेण्डा बनाएर अगाडि बढ्ने बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले असुरक्षा र डरकाकारणले सत्ता गठबन्धन बनेको र आगामी निर्वाचनमा पनि लागेको दाबी गर्नुभएको छ ।
एमालेसँग एक्लै लडेर जित्न सकिन्न भन्ने लागेरै सबै गठबन्धनमा लागिपरेको उहाँको तर्क छ । गठबन्धनलाई राष्ट्रप्रति कुनै चिन्ता नभएको बताउँदै नेता रायमाझीले मात्रै आफूहरुको अस्तित्व रक्षा गर्ने, कुनै पनि हालतमा निर्वाचन जित्ने र जसरी पनि सरकारका जाने भन्ने मात्रै सोचमा लागेको आरोप लगाउनुभयो ।
सत्तामा गइसकेपछि अहिलेको सरकारले देशलाई धराशायीमा पार्नुबाहेक अरु केहि गर्न नसकेको आरोप लगाउँदै नेता रायमाझीले फेरि पनि गठबन्धनले जितेर सरकारमा आयो भने देश २० वर्ष पछाडि पर्ने दाबी गर्नुभयो ।