काठमाडौं । नेकपा एमालेका नेता आनन्द पोखरेलले आगामी निर्वाचनमा एमालेले कसैसँग पनि तालमेल नगरि एक्लै लड्ने बताउनुभएको छ । १६५ सिट मै सत्ता गठबन्धनसँग आमनेसामने भएर एकल चुनाव लड्ने र जित्ने नेता पोखरेलको दाबी छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले पाँच दलीय गठबन्धनमा रहेका कुनै पनि दलहरुसँग सहकार्यको सम्भावना नरहेको बताउँदै गठबन्धन बाहिरका दलहरुले आफना मुद्दा र प्राथमिकताहरुमा सहमती जनाउछन् भने कतिपय आंशिक ठाउँमा तालमेल हुन पनि सक्ने तर मुख्य रुपमा एमालेले एक्लै गठबन्धनको सामना गर्ने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, चुनाव भनेको महाभारत हो, हामी एक्लै आमनेसामने हुन्छौ अनि जित्छौँ पनि ।’
नेता पोखरेलले स्थायी समिती र केन्द्रिय कमिटीको बैठक बसेर उम्मेदवारको प्रक्रिया र मापदण्ड तयार पार्ने र त्यसकै आधारमा आगामी असोज १५ गतेसम्म सबै उम्मेदवारी तोक्ने बताउनुभयो ।
यस्तै नेता पोखरेलले अर्को प्रसंगमा भावी प्रधानमन्त्रीमा केपी ओलीलाई नै अगाडि सार्ने बताउनुभएको छ । आगामी संघ र प्रदेशको निर्वाचनको मंसिर ४ मा घोषणा भएपछि नेपाली राजनितीमा यतिबेला भावी प्रधानमन्त्री को भन्ने, कस्लाई अगाडि सार्ने भन्ने कुराको चर्चा सबै दल र पार्टीमा उठिरहेका छन् दाबी गर्नेक्रम पनि सुरु भएको छ ।
नेपाली कांग्रेसबाट भावी प्रधानमन्त्रीका आकांक्षीहरु धेरै देखिएका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अन्तिमपटक प्रधानमन्त्री भएर देशको नेतृत्व सम्हाल्ने इच्छा जनाउनुभएको छ । यता एमालेले भने ओलीलाई नै प्रधानमन्त्रीमा अगाडि सार्ने कुरा स्पष्ट पारेको हो ।