काठमाडौं । मधेस सरकारका गृह तथा सञ्चारमन्त्री भरत साहले एक हप्ताभित्र प्रहरीलाई हस्तान्तरण गर्न प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीसँग माग गर्नुभएको छ।
मन्त्री साहले प्रदेश प्रमुख मिश्रमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन–पत्र बुझाउँदै निर्वाचनअगावै अर्थात् एक हप्ताभित्र प्रहरी हस्तान्तरण गर्न माग गर्नुभएको हो ।
तोकेको सीमाभित्र प्रदेश प्रहरी समायोजन तथा हस्तान्तरण नभए शान्तिपूर्ण अहिंसात्मक विरोधका कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार बाध्य हुने ज्ञापनपत्रमा चेतावनी दिइएको छ ।
केही दिनअगाडि मन्त्री साहले मधेस भवनमा पत्रकार सम्मेलन गरी सङ्घीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको थियो । आन्दोलन गर्नुअघि उहाँले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाएर चेतावनी दिनुभएको छ ।
‘संविधान तथा सङ्घीय ऐनले प्रहरी र शान्ति सुरक्षाको जिम्मेवारी प्रदेशलाई सुम्पिएको छ’, ज्ञापन पत्रमा भनिएको छ, ‘प्रहरी समायोजनमा सङ्घीय सरकारले कुनै तदारुकता नदेखाउँदा प्रहरी र प्रशासन विना प्रदेश सरकारको अनुभूत हुन नसकेको ब्यहोरा सादर अनुरोध छ ।’
यसअघि साउन ६ मा पनि मधेस सरकारले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै प्रहरी समायोजन गर्न माग गरेको थियो ।