काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले आगामी निर्वाचनमा गठबन्धनसँगै तालमेलमा रहने बताउनुभएको छ ।
ओली नेतृत्वको सरकार ढलाएर लोकतन्त्र र संघीयता बचाउँनका लागि पाँच दलीय गठबन्धनको सरकार बनाउन आफूहरुको पनि ठुलो योगदान रहेको बताउँदै अध्यक्ष यादवले यहि सत्ता गठबन्धनमा रहेको र निर्वाचनमा पनि रहने स्पष्ट पार्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका यादवले अहिलेको गठबन्ध बनाउन आफुहरु पनि सडकदेखि सदन र अदालतसम्म गएको स्मरण गराउँदै यहि गठबन्धनलाई बलियो बनाउनुपर्ने र आफुहरुलाई 'स्पेस' दिनुपर्ने तर्क गर्नुभयो ।
नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा बाबुराम भट्टराई र यादव चयन भएका छन् । पार्टीको हिजो ललितपुरमा बसेको पहिलो बैठकले एक सय ८९ केन्द्रीय कमिटी बनाउँदै भट्टराई र यादवलाई अध्यक्षमा चयन गरेको हो ।
जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर डा भट्टराईले नयाँ पार्टी खोल्नुभएको हो । यस्तै पार्टीको सहअध्यक्षमा गङ्गानारायण श्रेष्ठ, उपाध्यक्षमा हिसिला यमी, दुर्गा सोब र भक्तबहादुर शाह चयन भएका छन् । महासचिवमा रमेशप्रसाद यादव हुनुभएको छ ।