काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रलाई सफा राख्न निर्देशन दिनुभएको छ । शनिबार(आज) बिहान पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री सरसफाइमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिनुभएको हो ।
अवलोकन निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिनुभएको थियो । उहाँले पुनर्निर्माण भइरहेका सम्पदा स्थलहरू, विश्वरूपा मन्दिर, मृगस्थली, शेल्षमान्तक वन, विभिन्न मठ मन्दिर, स्तूप, सत्तललगायत स्थलको अवलोकन गर्नुभएको थियो ।
त्यस अवसरमा श्रेष्ठले पशुपति क्षेत्र तथा मन्दिर परिसरको सरसफाइमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई निर्देशन दिनुभयो । उहाँले भक्तजन, तीर्थयात्री, पैदल यात्री एवं पर्यटकलाई सहज हुने गरी सबै प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ।
मृगस्थली क्षेत्रमा अवस्थित लिच्छवीकालीन विश्वरूपा मन्दिर पुनः निर्माणको अवस्थाबारे पनि उनले जानकारी लिएका थिए । सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वको पशुपति क्षेत्र खुला संग्रहालयको रूपमा रहेको बताउँदै उनले सुरक्षा, संरक्षण र सरसफाइमा ध्यान दिनुपर्ने बताए ।
मन्त्री श्रेष्ठले घाट व्यवस्थापनबारे पनि जानकारी लिँदै पानी, बिजुली तथा सार्वजनिक शौचालय व्यवस्थापन गरी सहज सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । सरकारले पशुपति क्षेत्र सुधार कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समेत राखेको छ । त्यसैअनुसार पशुपति क्षेत्रको बृहत्तर सुधार कार्यक्रम तथा पुनः निर्माण कार्य भइरहेको कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले बताउनुभयो ।