काठमाडौं । परराष्ट्र मन्त्रालयले चीन ताइवानको विषयलाई नजिकबाट नियालिरहेको बताएको छ ।
आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
यस्तै परराष्ट्रमन्त्री डा. नारायण खड्का अर्को साता चीन भ्रमणमा जाने बताउँदै प्रवक्ता लम्सालले चीन र नेपालबीच हुने सम्झौताबारे पुनः पत्रकार सम्मेलन गरेर जानकारी दिने बताउनुभएको छ ।
चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार चीन जान लाग्नुभएको छ ।
यस्तै अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे संसदमा नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले जानकारी दिइसके भन्दै उहाँले यसबारेमा थप बोल्न नमिल्ने बताउनुभयो ।
यस्तै २० जना नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गरेकोमा १८ वटा राजदूतहरूको सहमति पत्र आइसकेको, तीन वटा राष्ट्रमा राजदूतहरू नियुक्त भएर गइसकेको र म्यानमार तथा मलेसियाको सहमति प्राप्त भइसकेको प्रवक्ता लम्सालले जानकारी दिनुभयो ।
यसका साथै राहदानी र कन्सुलर विभागमा चाडैं अनलाइनमार्फत सेवा दिने मन्त्रालयको तयारी रहेको उहाँको भनाइ छ ।