काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमणप्रति आपत्ति जनाउनुभएको छ ।
बुधबार(आज) एक विज्ञप्ति जारी गर्दै खनालले ताइवान चीनको अभिन्न अंग भएकाले चीनले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गर्नुभएको छ । ‘चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेका सबै देशले स्वीकार गरेका छन् कि ताइवान चीनको अभिन्न अंग हो, यस्तो परिस्थितिमा न्यानी पेलोसीको भ्रमण एक चीन नीतिको विपरीत हो’ खनालले भन्नुभएको छ ।
खनालले आफ्नो पार्टी ताइवान र सिंगो एसिया क्षेत्रमा हुने शान्ति विरोधी गतिविधिको विपक्षमा रहेको पनि बताएका छन् । उनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार अर्को देशलाई नहुने पनि उल्लेख गर्नुभएको छ ।
एसियाली देशको भ्रमणमा निस्किएकी अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसी मंगलबार सिंगापुर, मलेसिया हुँदै ताइवानको ताइपेइ पुगेकी थिइन् ।