काठमाडौं । अर्थमन्त्रीमा जनार्दन शर्मा पुनर्नियुक्ति भएसँगै आलोचना सुरु भएको छ । बजेट भाषणको अघिल्लो रात अनाधिकृत मानिसहरूलाई अर्थ मन्त्रालयभित्र लिएर राजश्वका दर हेरफेर गरेको आरोप लागेपछि विवादित बनेका शर्माले संसदीय छानबिन समिति बनेपछि राजीनामा बुझाएका थिए । संसदीय छानबिन समितिले अर्थमन्त्रालय भित्र अनाधिकृत व्यक्ति प्रवेश गराएको प्रमाण नभेटिएपछि शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त हुनुभएको हो ।
यद्यपि १४ गतेरातिको सीसीटिभी फुटेज नभेटिनुले शर्मामाथिको आक्षेप भने नामेट बनेको छ । नेकपा एमालेका नेता केशव बडालले अर्थमन्त्रीलाई जोगाउन प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्ड नै लागेको बताउँदै छानबिन समिति समेत आफू अनुकूल बनाएको आरोप लगाउनुभयो ।
अर्थमन्त्री छँदा शर्माले करको दर हेरफेर गर्न बजेट भाषणको अघिल्लो रात (जेठ १४ गते) राजश्व प्रशासनमा लामो समय काम गरेर अवकाश भएका नायब सुब्बा रघुनाथ घिमिरे र अर्का एक चार्टर्ड एकाउन्टेन्टलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको आरोप थियो । संसदीय छानबिन समितिले पनि सबैको रायसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । समितिमा रहेका ११ जनाले सबैतिरबाट जाँचबुझ गरी प्रतिवेदन तयार पारेको बताउँदै संयोजक लक्ष्मणलाल कर्णले राजनीतिमा जबाफदेहिता हुने भन्दै सम्पूर्ण प्रमाण बुझाएको दाबी गर्नुभयो ।
बजेट प्रकरणमा संसदीय छानबिन विशेष समितिले शुक्रबार बजेट निर्माणका बेला अनधिकृत मानिसहरू सहभागी भएको नपाइएको निष्कर्ष निकालेको थियो । सत्तारुढ गठबन्धनले चाँडो सफाइ दिएर अर्थमन्त्री जनार्दन शर्मालाई मन्त्रालयमा फर्काएको बताउँदै अधिवक्ता टीकाराम भट्टराईले सरकारले आफूले चाहेको विषयमा आँखा चिम्लेर निर्णय गर्न सक्ने बताउनुभयो ।
यसअघि पनि पदीय मर्यादा बिर्सेर विभिन्न विवादास्पद काम गरेपछि अर्थमन्त्री शर्मा आलोचित बन्दै आउनुभएको छ । विवादास्पद प्रकरणमा मुछिएका जनार्दन शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गरिएको भन्दै यूथ कंग्रेस नामक समूहले प्रदर्शन पनि गरेको छ ।
प्रमुख प्रतिपक्ष दल पनि सशक्त रूपमा नउभिएको उनीहरूको भनाइ छ । ’एमालेको स्वार्थ करायो, प्रतिपक्ष हरायो’ नारासहितको ब्यानर लिएर उनीहरू प्रदर्शनमा उत्रिएका थिए ।