काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँले आउँदो मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन रोक्न चलखेल सुरु भएको आरोप लगाउनुभएको छ ।
आज हेटौंडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै बानियाँले संघीय व्यवस्था कमजोर बनाउने तत्त्व निर्वाचन प्रभावित बनाउन लागि परेको बताउनुभयो ।
देशमा संघीय व्यवस्था स्थायित्व हुने देखेपछि शासन व्यवस्थालाई कमजोर बनाउने देश भित्र र बाहिरका तत्त्व निर्वाचन समयमा हन नदिन लागि परेको उहाँले बताउनुभयो ।
शासन व्यवस्था असफल बनाउन लाग्नेहरूलाई सफल हुन नदिन पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचन समयमा नै हुनुपर्ने उहाँको भनाई छ ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचन आउँदो मङ्सिर पहिलो साता हुनुपर्ने भन्दै उहाँले सरकारले यस बारेमा छिट्टै निर्णय गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई समयमा निर्वाचन गरेर देशलाई स्थायित्व प्रदान गर्ने अवसर भएको भन्दै यो अवसरबाट नचुक्न आग्रह समेत उहाँले गर्नुभएको छ ।