काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमा त्रुटिपूर्ण प्रावधान रहेको भन्दै द्वन्द्व पीडित समुदायले काठमाडौंमा धर्ना दिएका छन् ।
उक्त विधेयकमा पीडकलाई उन्मुक्ति दिने प्रावधान रहेको भन्दै पीडितलाई न्याय हुने गरी कानुन बनाउनुपर्ने उनीहरूको माग छ ।
आइतबार(आज) काठमाडौंको माइतीघरमा नेपाल माओवादी पीडित संघ, द्वन्द्व पीडित समुदाय र नागरिक समाजले गरेको धर्नामा सहभागीहरूले ऐन संशोधन प्रक्रियामा पीडितहरूसँग सार्थक परामर्श गर, दण्डहीनतालाई प्रश्रय दिने विधेयक स्वीकार्य छैन, विधेयकका त्रुटिपूर्ण प्रावधानहरू खारेज गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
नयाँ कानुनले आफूहरू थप पिडामा पर्ने भएकाले विरोध गर्नुपरेको उनीहरूको भनाइ छ । केही समयअघि सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्ने विधेयक संसद्मा दर्ता गरेको थियो ।