काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा दिउँसो ३ बजेका लागि बोलाइएको आजको बैठकमा पूर्व अर्थमन्त्री जनार्दन शर्मा फेरि अर्थ मन्त्रालय फर्कने या नफर्कनेबारेमा पनि आवश्यक निर्णय गर्ने तयारी छ ।
संसदीय छानबिन विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेपछि शर्माले फेरि अर्थ मन्त्रालय सम्हाल्ने चर्चा भइरहेको छ ।
छानबिन समितिको प्रतिवेदनले शर्मालाई निर्दोष साबित गरेको व्याख्या गर्दै उहाँ नै फेरि अर्थ मन्त्रालय फर्किने सम्भावनाबारे चर्चा हुन थालेको हो । उहाँ अर्थमा फेरि फर्कने या नफर्कने निर्णय शर्मामाथि नै निर्भर हुने माओवादी नेताहरुको भनाइ छ ।
यसअघि अस्ति शुक्रवार बसेको स्थायी कमिटि बैठकले प्रदेश बैठकको समय हेरफेर गरेको थियो ।