काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शेखर–गगन समूहका शिव लम्साल विजयी हुनुभएको छ ।
पदाधिकारीसहितको केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानलकै बाहुल्यता रहेको छ । ८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका लम्सालले यसपटक संस्थापनकै अनिता बिन्दूलाई पराजित गर्नुभएको हो ।
मतगणना सकिएपनि आधिकारिकरुपमा मतपरिणाम घोषणा भइसकेको छैन । तर लम्सालले विजयोत्सव मनाइरहनुभएको छ ।
युनियनको महासचिवमा पनि लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम केसी निर्वाचित हुनुभएको छ ।
खुला उपाध्यक्षमा लम्साल प्यानलबाट उम्मेदवार नकुल अर्याल निर्वाचित हुनुभएको छ। खुला उपाध्यक्षमै अर्को एक कोटामा संस्थापन पक्षका भिष्मराज ओझा विजयी बन्नुभएको छ । उपत्यका उपाध्यक्षमा जीवन भण्डारी विजयी हुनुभएको छ भने कोषाध्यक्षमा संस्थापन पक्षका माधव धिताल विजयी हुनुभएको छ ।