काठमाडौं । नेपालको कला संस्कृति तथा पर्यटन प्रवर्द्धनका लागि दक्षिण कोरियाको सिओलमा नेपाल कल्चर तथा शैक्षिक केन्द्रको सञ्चालन गरिएको छ ।
केन्द्र सञ्चालनले कोरियन नागरिकहरूका लागि नेपालको संस्कृतिबारे थप बुझ्न र समग्रमा नेपालको पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।
२०२२ जुलाई २१ का दिन दक्षिण कोरियाको सिओलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल पर्यटन बोर्डका सदस्यहरू मदन आचार्य र ङामा निमा शेर्पा, बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र सिओलका डेपुटि मेयर लगायतले उक्त सेन्टरको संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।
सेन्टरको उद्घाटन गर्दै मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कोरियामा सांस्कृतिक तथा शैक्षिक केन्द्र उद्घाटन हुनु नेपाली र कोरियाली दुवैका लागि खुसीको विषय भएको बताउनु भयो । उहाँले यसबाट नेपालबारे जान्न चाहने कोरियन नागरिकहरूलाई सहज हुनको साथै नेपालको पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गर्न भयो ।
बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले कोभिड १९ पछिको नेपालको पर्यटन क्षेत्रको बारेमा जानकारी दिँदै नेपालले स्वास्थ्य सुरक्षा तथा अन्य प्राटोकलहरुको पालना गरकोले ढुक्कसँग नेपालको भ्रमण गर्न आग्रह गर्नुभयो ।
कोरियाका पर्यटन व्यवसायी,कलाकार,पत्रकार तथा नागरिक समाजका प्रतिनिधि सहभागी कार्यक्रममा चर्चित कोरियाली कमेडियन किम ब्याङ म्यानलाई कोरियाका लागि नेपाली पर्यटन सद्भावना दूत नियुक्त गरिएको थियो । किम सन २०१५ को महाभूकम्प पछि नेपालको नुवाकोटका विभिन्न स्थानमा विद्यालय पुनः निर्माणमा सहभागी भएका थिए । सद्भावना दूत नियुक्त भएपछि किमले आफूले आफ्नो टिभी कार्यक्रममा नेपालका बारेमा सामग्री राख्ने तथा नेपालमा कोरियाली सिनेमा छायाङ्कन गर्ने समेत बताएका छन् ।