काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरूको म्याद थप नगरेको विरोधमा पाँच दिनदेखि नगरपालिकाको मूलगेटमा ताला लागेको छ । करार र अस्थायी कर्मचारी नगरपालिकाको मूलगेटमा धर्नामा पनि बस्दै आएका छन् ।
बिहीबार र शुक्रबार आन्दोलनकारी कर्मचारीहरूले नगरपालिकाको मूलगेटमै ताला लगाएपछि नगरपालिकाका कुनै जनप्रतिनिधिहरू पनि नगरपालिकाभित्र प्रवेश गर्न सकेनन्, केही सेवा लिन आएका सेवाग्राही पनि रित्तै घर फर्कनु परेको थियो।
एक हप्तादेखि आफूहरूले नगर प्रमुख वसन्तकुमार बस्नेतको ध्यानाकर्षण गराएको र आफूहरू विना कारण निष्कासन हुन परेकाले पुनः बहाली नभएसम्म आन्दोलन नरोकिने आन्दोलनकारी कर्मचारीका तर्फबाट संयोजक कृपाराम चौधरीले बताए ।
यसै आर्थिक वर्षको साउन १ गतेदेखि नगरपालिकाका ६० अस्थायी, ज्यालादारी र करारका कर्मचारीहरूको नगरपालिकाले म्याद थप नगरेकाले आन्दोलनरत कर्मचारीहरू स्वतः निष्कासनमा परेको त्रियुगा नगरपालिकाले बताएको छ ।
नगर प्रमुख बस्नेतका अनुसार अस्थायी र करारका धेरै सङ्ख्याको कर्मचारी पाल्दा नगरपालिकाले ठुलो आर्थिक व्यय खेप्न परेकाले कुनै आग्रह र पूर्वाग्रहविना नै उनीहरू कसैलाई पनि म्याद थप नगरिएको हो ।
अब आफूले निर्णय गरिसकेका कारण निर्णयबाट कुनै पनि हालतमा नफर्किने उहाँको भनाइ छ । आन्दोलनरत कर्मचारीहरू भने आफूहरू विना कारण निष्कासनमा परेकाले पुनः बहाली नभएसम्म नगरपालिकामा निरन्तर धर्ना दिने, गेटमा ताला लगाउने र नगरपालिकाको कामकाज ठप्प बनाउने अडानमा रहेको बताउनुभयो ।
अनुसार आफूहरू वार्ता विरोधी नभएको र प्रमुखले वार्तामा बोलाएर छलफल गराए त्यहीबाट समस्याको समाधान होस् भन्न चाहेको एक आन्दोलनरत कर्मचारी बताएका छन् ।