काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलालले देखाएको बाटोबाट दायाँबायाँ नगर्ने बताउनुभएको छ ।
पुष्पलालको ४४ औं स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पुष्पलालका काम र योगदानको प्रेरणा लिएर आज यस ठाउमा आइपुगेको भन्दै उहाँले देखाएको बाटोबाट दायाँबायाँ नगर्ने बताउनुभएको हो ।
यस्तै उहाँले नेपाली समाजलाई सम्मृद्ध नेपाल सुखी नेपाली र स्वतन्त्र नेपाल बनाएर छोड्ने संकल्प समेत गनुभयो । उहाँले विगतदेखि नै सत्ता स्वार्थका लागि नेपाली काँग्रेसले आफ्नै पार्टीका योद्धाहरु मारिँदा समेत सहिद स्वीकार्न र उचित सम्मान गर्न नसकेको भन्दै कटाक्ष गर्नुभयो ।
यस्तै उहाँले भिमदत्त र विद्यार्थी नेता चिनियाँ काजीको नाम लिँदा कांग्रेसको आङ सिरिङ्ङ हुने भन्दै दुर्गानन्द झाले राजा महेन्द्रको गाडीमाथि बम हान्दा त्यसको जिम्मेवारी पनि कांग्रेसले नलिएको सुनाउनुभयो ।
ओलीले भन्नुभयो, ‘दुर्गानन्द झालाई राजामाथि बम हानेको भनेर फाँसी दिइएको थियो । तर काँग्रेसले त्यसको ओनरसीप लिएन । दुर्गानन्दलाई सहिद मानेनन् ।’
त्यसक्रममा ओलीले पुष्पलालको जीवनको चर्चा गर्दै नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका लागि पुर्याएको योगदानको चर्चा गरेका थिए ।
पुष्पलालको २०३५ सालमा भारत निर्वासनकै क्रममा विरामीपछि निधन भएको थियो । उहाँको शव तत्कालिन पञ्चायत शासकले नेपाल ल्याउन प्रतिवन्ध लगाएपछि भारतमै दाहसंस्कार गरिएको थियो ।