काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । आजको बैठकमा नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गर्ने तयारी भएको छ । बैठक दिउँसो १ बजे बस्दै छ ।
सत्तारूढ दलकै र विपक्षी दलका सांसदका संशोधन प्रस्तावका केही मुद्दा सम्बोधन गरेर नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गर्ने तयारी भएको हो । बैठकमा नेपाल नागरिकता पहिलो संसोधन विधेयक–२०७९ माथि प्राप्त संशोधनलाई निर्णायार्थ प्रस्तुत गरिनेछ ।
त्यसपछि गृहमन्त्री बालकृष्ण खाणले ’नेपाल नागरिकता पहिलो संशोधन विधेयक–२०७९ लाई पारित गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सरकारले गएको २४ गते ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ फिर्ता लिएर नयाँ विधेयक दर्ता गराएको थियो ।
विधेयकमाथि ३१ वटा समूहका ९४ सांसदका संशोधन प्रस्ताव छन् ।
संशोधन प्रस्तावमाथिको छलफलपछि विधेयक निर्णायार्थ पेस गर्ने तयारी छ । ३ असोज २०७२ भन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानको हकमा यो प्रावधान लागू हुने विधेयकमा छ ।