काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा नेपालका वामगठबन्धन एक हुनुपर्ने आवाज उठ्न थालेको छ । कम्युनिष्टहरुको एकतालाई मजबुद बनाउन केही नेताहरु दौडधुपमा समेत लागेका छन् । एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादी लगायतका दलहरु एकजुट हुनुपर्ने आवाज उठेपछि शीर्ष नेताहरु लबिङमा जुटेका छन् ।
यद्यपि एमाले र एकीकृत समाजवादी मिल्न भने सकस देखिन्छ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एकताको पक्षमा उभिनुभएको छ भने माधव नेपाल यो विषयमा अझै प्रष्ट देखिएका छैनन् । खनालका अनुसार इतिहासका विभिन्न कालखण्डमा अपत्यारिता संयोग जुरेकोले एकता अझै सम्भव रहेको छ ।
एमालेभित्र पनि वामएकताको बारे बहस र छलफल शुरु भएको छ । अध्यक्ष केपी ओली निकट मानिने नेता महेश बस्नेतले पनि वामएकताका लागि झलनाथ खनाल तयार रहेकोले एकीकृत समाजवादीसँग एकता हुनसक्ने बताउनुभयो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन नटुट्ने र अन्य दलहरुलाई यसैमा समाहित गरेर जाने विषयमा प्रष्ट रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डको संकेतले तत्काल वामएकताको पक्षमा छलफल बहस भएको देखिदैन । माओवादीसँग एमालेले पनि एकता गर्न मन गरेको छैन ।
यता, शहरी विकास मन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले एमालेसँग एकता हुन नसक्ने पुरानो अडान दोहो¥याउनुभएको छ । एमाले अध्यक्ष ओली सुध्रेर आयो भने सम्भावना भएपनि ओली क्षमा माग्न तयार नहुने उहाँको भनाइ छ ।
नेपालका कम्युनिष्ट पार्टीहरु एकताको पक्षमा रहेपनि विभिन्न समयमा आएको दरारले वा राजनीतिलाई गिजोलेको पाइन्छ । शक्ति र सत्ताका निम्ति गरिने एकता आफू बलियो भइसके पश्चात ढाल्ने प्रवृत्तिले थप समस्या निम्त्याएको छ ।