काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकार सक्षम रहेको दाबी गर्नुभएको छ । पछिल्लो समय कोरोना संक्रमण बढिरहे पनि यसले महामारीको रूप नलिने उहाँको दाबी छ ।
चिकित्सा शास्त्र अध्ययन संस्थानले आइतबार(आज) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कोभिड विरुद्धको खोप लगाउन छुटेकाहरूलाई नजिकको स्वास्थ्य संस्थामा गई लगाउन पनि आग्रह गर्नुभयो।
त्यस अवसरमा मन्त्री खापुङले कोभिड महामारीको दरमा पछिल्लो समय केही वृद्धि भएको उल्लेख गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर त्यसको संक्रमणबाट बच्न पनि सबैलाई आह्वान गर्नुभयो।
कोरोना संक्रमणका कारण एक जनाको पनि ज्यान नजाओस् भन्ने कुरामा सरकार सजग रहेको मन्त्री खापुङको भनाइ छ । सरकारी तथ्याङ्क अनुसार हालसम्म नेपालमा कोभिडका कारण ११ हजार ९५३ जनाले ज्यान गुमाउनु परेको छ ।