काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।
मोदीसँगको भेटपछि उहाँ आज नै स्वदेश फर्कने कार्यक्रम छ। भारतीय सत्तारूढ पार्टी भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड शुक्रबार दिउँसो नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो ।
उहाँले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुभएको थियो । त्यस्तै, भारतस्थित आफ्नो पार्टीका नेता कार्यकर्तासँग पनि भेट गर्नुभएको थियो। प्रधानमन्त्रीपत्नि आरजू राणा देउवासँग पनि प्रचण्डले भेटवार्ता गर्नुभएको थियो ।
शनिबार नै नयाँदिल्लीमा आयोजित ‘नेपाल–भारत सम्बन्धु विषयक एक कार्यक्रममा आफ्नो विचार प्रस्तुत गरेका प्रचण्डले भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गर्नुभएको थियो । त्यसपछि उहाँ भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवालेले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनुभयो ।