काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुभएको छ ।
बुधबार होटेल एभरेस्टमा भएको भेटमा दुई देश र दुई पार्टीको सम्बन्ध र पारस्परिक लाभका विषयमा छलफल भएको छ । भेटमा एकीकृत समाजवादीका नेताहरूले नेपाल एक चीन नीतिमा दृढ रहेको बताउनुभएको छ ।
भेटपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भन्नुभयो, ‘चीनको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको पक्ष छैनौँ । तिब्बतको इश्यु होस् कि ताइवानको, यो सबै चीनको आन्तरिक मामिलाको हो भन्ने हामीले राखेका छौं ।’
आफूहरूले चीनको सुरक्षा चासोमा प्रस्ट पार्ने काम गरेको भन्दै उहाँले भन्नुभयो, ‘सत्तामा पुगेकाहरूबाट केही केही बेला समस्याजन्य काम भएको भए पनि यसमा नेपाली जनता र पार्टीहरूले खबरदारी गर्दै आएका छन् । हामी असंलग्न परराष्ट्र नीतिमा अविचलित रहन्छौँ भनेका छौं ।’
कम्युनिस्ट पार्टीहरूको एकता वा मोर्चाबन्दीबारे केही कुराकानी भयो भन्ने प्रश्नमा अध्यक्ष नेपालले भन्नुभयो, ‘एकताबद्ध भएर नेपालका पार्टीहरू अगाडि बढुन् भन्ने सुभेक्षा व्यक्त गर्नुभयो । फलाना फलाना पार्टी मिल्नुपर्छ, पर्दैन भन्नेमा प्रवेश गर्नु भएन ।’