काठमाडौं । काठमाडौं उपत्यका (काठमाडौं ललितपुर र भक्तपुर) को सुरक्षा व्यवस्था केन्द्र मातहत राख्ने गरी सरकारले ल्याएको विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा पारित भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकले पारित गरेको नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र सम्बन्ध ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक अनुसार उपत्यका सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीमा रहनेछ । तर, नेपाल प्रहरीले प्रदेश प्रहरीको समन्वयमा काम गर्नुपर्ने भनिएको छ ।
सरकारले ल्याएको विधेयकमा सुरुमा काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा नेपाल प्रहरीकै मातहत रहने व्यवस्था थियो । यसमा प्रतिनिधिसभाले ‘‘कार्य सम्पादन गर्दा नेपाल प्रहरीले प्रदेश प्रहरीसँग समन्वय गर्नेछ’ भन्ने वाक्यांश थपिएको छ ।
तर, काठमाडौं उपत्यकाको सुरक्षा अहिले पनि नेपाल प्रहरीले नै हेर्दै आएको छ । पूर्ववर्ती सरकारले उपत्यकाको सुरक्षा केन्द्र मातहत रहने गरी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशलाई वर्तमान सरकारले पनि निरन्तरता दिएको छ ।