एजेन्सी । भारतमा पछिल्लो २४ घण्टाको समयावधिमा १८ हजार २५७ कोरोना संंक्रमित थपिएका छन् । हाल भारतमा १ लाख २८ हजार ६९० सक्रिय संक्रमित रहेका छन् । यो कुल संक्रमितको ०.३० प्रतिशत हो । करिब ४ महिनापछि १० दिनयता सक्रिय संक्रमितको संख्या १ लाखभन्दा बढी भएको छ ।
हाल भारतमा कोरोनाका कुल संक्रमितको संख्या ४ करोड ३६ लाख भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार(आज) जानकारी दिएको छ । पछिल्लो एक दिनमा १४ हजार ५५३ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल संख्या ४ करोड २९ लाख ६८ हजार ५३३ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८.५० प्रतिशत रहेको छ ।
२४ घण्टाको समयावधिमा कोरोना संक्रमणमा ४२ को मृत्यु भएको छ । कोरोना सुरु भएबाट हालसम्म यस महामारीको कारण ५लाख २५ हजार ४२८ को मृत्यु भएको छ ।
२४ घण्टाको सो अवधिमा ४ लाख ३२ हजार ७७७ कोरोना परीक्षण भएको जनाइएको छ । यहाँ कोरोना संक्रमण सुरु भएबाट हालसम्म ८६ करोड ६६ लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ । २४ घण्टाको समयावधिमा १० लाख २१ हजार १६४ डोज कोरोनाविरुद्धको खोप लगाइएको सो मन्त्रालयले आज जानकारी दिएको छ ।
भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म कोरोनाविरुद्ध १ अर्ब ९८ करोड ७६ लाख ५९ हजार २९९ डोज खोप लगाइएको छ ।