काठमाडौं । काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरि अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार अहिले काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा पुगेको हो ।
आज काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ । उक्त समयमा विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो छ, जहाँ वायु प्रदूषण २७३ एक्युआई मापन गरिएको थियो ।
वातावरण विभागका अनुसार लामो समयदेखि खुलेर वर्षा नहुनु, सुख्खा मौसम, सडक तथा निर्माण कार्यबाट उड्ने धुलो, सवारी साधन र उद्योगधन्दाबाट निस्कने धुवाँ वायु प्रदूषण बढ्नुका प्रमुख कारण हुन्।
उपत्यकाको भौगोलिक बनावट कचौराजस्तो भएकाले प्रदूषित हावा बाहिर ननिस्कनु र माथिल्लो वायुमण्डलमा थुनिनु पनि प्रदूषण बढ्नुको अर्को कारण रहेको विज्ञहरूको भनाइ छ।
वातावरण विभागका सूचना अधिकारी कन्चन कुमार नायकका अनुसार “औद्योगिक गतिविधिबाट निस्कने धुवाँ–धुलो, सिमापार (क्रस बोर्डर) प्रदूषण र छिमेकी मुलुक भारतबाट आउने प्रदूषणले पनि प्रभाव पारेको छ”, उहाँले भन्नुभयो, खुलेर “पानी नपरेसम्म प्रदूषण अझ बढ्ने सम्भावना छ ।”
शुन्य देखि ५० एक्युआई राम्रो (हरियो सङ्केत), ५१ देखि १०० सम्म सचेत रहनुपर्ने (पहेंलो सङ्केत) मानिन्छ । त्यस्तै, १०१ देखि १५० एक्युआई अस्वस्थ मानिन्छ, जसले श्वासप्रश्वास र मुटुरोगी बिरामीलाई असर गर्छ। १५१ देखि २०० एक्यूआई सबैका लागि अस्वस्थ, २०१ देखि ३०० एक्युआई धेरै अस्वस्थ तथा ३०० भन्दा माथि पुगेको अवस्था अत्यन्तै खतरनाक मानिन्छ ।काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार नेपाल सरकारले एक्युआई ३०० भन्दा बढी पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था गरेको छ ।
यस्तो विपद् न्यूनीकरणका लागि फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ब्रुमर तथा भ्याकुमको प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था कार्ययोजनामा उल्लेख छ । विभागका सूचना अधिकारी कन्चन कुमार नायकका अनुसार प्रदुषण रोक्न सरकारले अनुगमन गरिरेको बताउनुुहुन्छ ।
वायु प्रदूषणको समस्या हरेक वर्ष जाडो र सुख्खा मौसममा दोहोरिरहँदा पनि स्थायी समाधानको पहल कमजोर देखिएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले सरकार, स्थानीय तह र सर्वसाधारणको साझा प्रयासबिना उपत्यकाको वायु गुणस्तर सुधार्न कठिन हुने बताएका छन्। सूचना अधिकारी कन्चन कुमार नायकका अनुसार प्रदुषण कम गर्न तिनै तहका सरकार संगै समन्यवयमा काम भईरहेको छ ।
वातावरण विभागले बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ। साथै, बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क प्रयोग गर्न र सकेसम्म बन्द कोठाभित्र बस्न सुझाव दिएको छ।
उता, चिकित्सकहरूले वायु प्रदूषणका कारण आँखा पोल्ने, घाँटी खसखसाउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने तथा टाउको दुख्ने जस्ता समस्या देखिन सक्ने बताएका छन्। उनीहरूले नियमित रूपमा पानी पिउन, पोषणयुक्त आहार लिन, घरभित्र धुलो कम हुने वातावरण बनाउन र स्वास्थ्यमा समस्या देखिए तुरुन्त चिकित्सकको सल्लाह लिन आग्रह गरेका छन्। डा शेरवहादुर पुनले वायु प्रदुषणका बेला स्वासप्रश्वास सम्वन्धी जटिलता छिटो आउने र अरु दिर्घकालिन रोग निम्तिने जोखिम रहने बताउनुहुन्छ ।
डा पुनले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, निस्कनै परेमा मास्क प्रयोग गर्न र सावधानी अपनाउन आग्रह गर्नुभएको छ । वायु प्रदुषका वेला खुला व्यायाम नगर्न पनि अनुरोध गर्नुहुन्छ ।
वायु प्रदूषण नियन्त्रणका लागि दीर्घकालीन उपाय अपनाउन आवश्यक रहेको भन्दै सरोकारवाला निकायबीच समन्वय गरेर प्रभावकारी योजना कार्यान्वयन गर्नुपर्ने विज्ञहरूको सुझाव छ।
वायु प्रदूषण तत्काल नियन्त्रण नगरे जनस्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विज्ञहरूले सचेत रहन र दीर्घकालीन समाधानतर्फ सरकार तथा सरोकारवाला निकाय गम्भीर हुनुपर्ने आवश्यकता औँल्याएका छन्। त्यसैले,स्वच्छ हावा सुनिश्चित गर्न सामूहिक प्रयास अपरिहार्य रहेको छ ।