नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा ‘फ्रन्ट लाइन’मा खटिएका स्वास्थ्यकर्मी र स्थानीय नागरिकबीच असमझदारी उत्पन्न हुन नदिन सरकारलाई आग्रह गर्नुभएको छ ।
उहाँले आज वक्तव्य निकालेर आफ्नो जीवन जोखिममा राखेर काम गर्ने स्वास्थ्यकर्मीसंगै सुरक्षाकर्मी, सञ्चारकर्मी र सफाईकर्मीहरुको प्रशंसासमेत गर्नुभएको छ । साथै उहाँले प्रतिकूलतामा निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ ।
उहाँले स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त ब्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरण खलल हुन नदिन सरकारलाई आग्रह गर्नुभएको छ ।
स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नु सबैको अभिभारा भन्दै देउवाले यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न सबैलाई आग्रहसमेत गर्नुभएको छ ।
एकता र विश्वासका साथ आफ्नो कार्यक्षेत्रमा मानवीय भावना साथ थप क्रियाशील रहन पार्टीका नेता कार्यकर्ता र स्थानीय जनप्रतिनिधिलाई आग्रह समेत गर्नुभएको हो ।
साथै। विदेशमा अप्ठ्यारामा परेकाहरुको निःशुल्क उद्वार गर्नसमेत सरकारसँग माग गर्नुभएको छ ।