काठमाडौं । बाजुराको बुढिगंगा नगरपालिकाको चुनाव सम्पन्न भएको छ ।
सबै मतदान केन्द्रमा बिहान ७ बजेबाट शुरु भएर साँझ ५ बजे निर्वाचन सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले बताउनुभयो । बुढिगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवाद पछि प्रहरीले थप झडप हुन नदिन हवाइ फायर गरेको थियो ।
अन्य ठाउँमा भने कुनै पनि विवाद नभएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदानस्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए ।
मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गरेका थिए । बुढिगंगा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । १० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ ।