काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रतिनिधिसभामा चार वर्षदेखि विचाराधीन नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता गर्ने कार्यसूची रहेको छ ।
आज अर्को विधेयक दर्ता गर्ने र फास्ट ट्राकमार्फत पास गर्ने सरकारी तयारी छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २०७५ सालदेखि संसदमा विचाराधीन नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो । यो विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ ।
तर, नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको बहुमत भएको त्यो समितिले बहुमतका आधारमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्काल परिचयपत्र दिने र ७ वर्षपछि नागरिकता दिने प्रावधान पास गरेको छ ।
त्यसबेला नेपाली कांग्रेससँगै जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले भने तत्कालै नागरिकता दिने हालको व्यवस्थालाई नै निरन्तरता दिनुपर्ने मत राखेका थिए । सत्तारुढ पाँच दलमा सहमति भएका विषयहरुलाई मात्र समेटेर नागरिकता विधेयक ल्याउने सहमति जुटेको छ ।