Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

एसपीपी अझै पनि आशङ्काको घेरामा (खास खवर)

एसपीपी अझै पनि आशङ्काको घेरामा (खास खवर)

  • आइतवार, आषाढ १९ २०७९

  • 509
    SHARES

  • एसपीपी अझै पनि आशङ्काको घेरामा (खास खवर)
    काठमाडौं । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी रद्द गर्ने विषयमा नेपालले अमेरिकालाई पठाइसकेको भनिएको पत्र अझै पनि नपठाएको पाइएको छ ।
     
    अमेरिकालाई पत्र पठाउने विषयमा ढिलासुस्ती हुनु र अझै एसपीपीवारेका भित्री सूचनावारे जनता जानकार नहुनुले यो विषय आशङ्काकै रुपमा रहेको छ ।
     
    परराष्ट्र मन्त्रालयले एसपीपीबारे अमेरिकालाई पत्र पठाउने विषय अध्ययनकै क्रममा रहेको र अझै पत्र नपठाएको जानकारी दिएको छ । 
     
    मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले एसपीपी रद्द गर्ने मन्त्रिपरिषद्को निर्णयबारे मन्त्रालय जानकार रहेको र उपयुक्त समयमा अमेरिकालाई पत्र पठाउने बताउनु भएको हो । 
     
    नेपाल सरकारले असार ६ गते एसपीपी अस्वीकार गर्ने निर्णय गर्दै औपचारिक जानकारी दिन अमेरिकालाई पत्र पठाउने जिम्मा परराष्ट्र मन्त्रालयलाई दिएको थियो।
     
    असार १३ गतेको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत रक्षा मन्त्रालयको सम्बन्धमा भएका छलफल तथा स्पष्टीकरणमा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले भने एसपीपीलाई अगाडि नबढाउने भनेर अमेरिकालाई पत्र पठाइसकिएको बताउनु भएको थियो । 
     
    तर आज परराष्ट्र मन्त्रालयले एसपीपीवारे पत्र नपठाएको जनाएको हो । नेकपा एमालेका नेता भीम रावलले  एसपीपीका सन्दर्भमा अहिलेसम्म अमेरिकालाई पत्र नपठाउनु आपत्तिजनक भएको प्रतिक्रिया दिनुभएको छ ।  
     
    उहाँले एसपीपी अझै पनि आशङ्काको विषय वनेको भन्दै पत्र लेखेर तुरुन्त संसदलाई जानकारी गराउन र नेपाली जनतालाई आशङ्का जन्माउने काम नगर्न सरकारलाई आग्रह गर्नुभयो ।
     
    एसपीपीको विषय त्यति सजिलै नटुंगिने राजनीतिक विश्लेषकहरूको तर्क छ । एसपीपी सुरुवात देखि नै पारदर्शी नभएको र सरकारले एसपीपी टुङ्गियो भन्नु असाध्यै झुटो भएको राजनीतिक विश्लेषक मुमाराम खनालको तर्क छ ।
     
    अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी बाहिरिएपछि नेपालमा त्यसले ठूलो राजनीतिक विवाद सिर्जना गरेको छ । यसको चौतर्फी आलोचना पनि भइराखेको छ ।
     
    आज परराष्ट्र मन्त्रालयले अध्ययनकै क्रममा रहेको र अझै पत्र नपठाएको जानकारी दिएपछि एसपीपीको विषय अझै पनि अन्योलग्रस्त बनेको छ । यसै अन्यौलताका बिचमा एसपीपी पनि कतै एमसीसी जस्तै हुने त होइन भनेर आम जनता सशङ्कित भएका छन् । 
     


    आइतवार, आषाढ १९ २०७९०८:२८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij