काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध चार दलले संयोजक वामदेव गौतमलाई निष्कासन गरेको छ ।
अभियानमा आबद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै गौतमलाई निष्कासन गरेको नेता युवराज सफलले जानकारी दिनुभयो ।
गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले ११ असारमा ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा दोस्रो भेला गरेको थियो ।
समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीसमेत सहभागी भेलाले गौतमको नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियानलाई दलको रुपमा अघि बढाउने निर्णय गरेको थियो ।
शनिबार सतुंगलस्थित एक पार्टी प्यालेसमा चार पार्टीको शीर्ष नेताको बैठकले गौतमलाई बहुमतबाट निष्कासन गरी सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ ।
जसको सदस्यमा कृष्णगोपाल वञ्जरा, मीननाथ देवकोटा, नीलकण्ठ पौडेल, द्वारिका निरौला मानव, गुणबहादुर वञ्जरा, भरत कुमाल, भगवती ढकाल, सरस्वती न्यौपाने, तेजबहादुर कार्की र रोशन लामिछाने रहेका छन् ।
उनीहरूको निर्णयमा भनिएको छ, ‘नेकपा एकता राष्ट्रिय अभियानका केन्द्रीय संयोजक कमरेड वामदेव गौतममाथि अभियानमा आबद्ध प्रमुख चार पार्टी समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीले निम्न संयुक्त पाँच बुँदे आरोप पत्र लगाउँदै संयोजकलाई आजकै मितिदेखि नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट निष्कासन गरी अभियान सचिवालय सदस्य युवराज सफललाई संयोजकको जिम्मेवारी दिने निर्णय गरियो ।’
हेर्नुहोस् निर्णयको एक पृष्ठ !