काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला गुटको बैठकले पाँच बुँदे निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनकै सभापति बन्न खोजेको गुटका नेताहरूले निष्कर्ष निकालेका छन् ।
पार्टी उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापासमेत सहभागी बैठकले यस्तो निष्कर्ष निकालेको हो । गुटको बैठकपछि बोल्दै डा. गोविन्द पोखरेलले सञ्चारकर्मीलाई निर्णयबारे जानकारी गराउनुभएको थियो ।
पोखरेलका अनुसार कोइराला गुटले सरकारले जनतालाई राहत दिन नसकेको र जनजीविकाका सवाललाई सम्बोधन गर्न नसकेको निष्कर्ष निकालेको छ ।
दोस्रोमा, विगतमा प्रतिबद्धता जनाएअनुसार राजश्व अनुसन्धान विभाग लगायतका निकायहरूलाई प्रधानमन्त्री मातहतमा नराख्ने विषयलाई सरकारले कार्यान्वयन नगरेको गुटको गुनासो छ ।
पार्टीको यो गुटलाई देशव्यापी रूपमा परिचालन गरिने पोखरेले बताए । यद्यपि, समानान्तर संरचना नबनाउने उहाँको भनाइ छ ।
सरकारले आर्थिक सुशासनको खिल्ली उडाएको आरोप पनि कोइराला गुटले लगाएको छ । यस्तै परराष्ट्र नीति बनाउँदा विपक्षी दलहरूलाई पनि विश्वासमा लिन सुझाव दिइएको छ ।
बैठकले देउवाले कांग्रेस सभापति भएको आभास गराउन नसकेको निष्कर्ष निकालेको थियो ।