काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले रासायनिक मल अभाव हुनुमा ठेकदार दोषी रहेको बताउनुभएको छ ।
मलको ठेक्का प्रणाली राम्रो नभएको भन्दै उहाँले निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भनेर सोच्ने बेला भएको बताउनुभयो ।
१९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रको फार्ममा आज बिहान आयोजित कार्यक्रममा बोल्दै उहाँले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि हुनु र ठेक्का पाएका ठेकदारको बेवास्ताका कारण मल ल्याउन नसकिएको बताउनुभयो ।
यस्तै मन्त्री यादवले लागेको ठेक्काबाट पनि मल नआएको बताउनुभयो । भारतले लामो समयपछि हिजो १५ हजार मेट्रिकटन रासायनिक यूरिया मल दिने भनेको पनि मन्त्री यादवले जानकारी दिनुभयो
अहिले कृषकलाई यूरिया मल अभाव भएको बताउँदै उहाँले डिएपी भने पुग्ने र आउने क्रममा रहेको मन्त्री यादवले बताउनुभयो ।