काठमाडौं । नेपालमा च्याउँ उम्रिएझैँ विभिन्न पार्टी खोल्ने क्रम अझै रोकिएको छैन् । केही कुरामा चित्त नबुझ्दा वा उचित स्थान नपाउँदा संविधानले व्यवस्था गरेको अधिकारलाई टेकेर विभिन्न व्यक्तिहरुको हस्ताक्षर संकलन गरी पार्टी निर्माण गर्ने क्रम लहडजस्तै बनेको छ ।
केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी पत्रकार रवि लामिछानेले घोषणा गरे । आज राजनीतिको उत्तरार्धमा पुगेका बामदेव गौतमले नेकपा एकता राष्ट्रिय अभियान नामक पार्टीको घोषणा गरे । यो लहडले विधि, पद्धति र सिद्धान्तलाई तिलाञ्जली दिँदै एकले अर्कोलाई निषेध गर्ने र बार्गेनिङ गर्ने शक्तिलाई भने निकै मलजल गरेको छ ।
यतिसानो मुलुकमा सयौँ पार्टीको स्थापनाले न त जनताले सुख पाउँछन् न त विकासले गति लिन्छ । यो त विरोध र भागबण्डाका लागि स्थापना गरिएका दल हुन् । अन्तिममा ठूला पार्टीहरुसँग एकता गर्ने र आफू सुरक्षित हुने बाहेक अन्य प्रयोजन हुनै सक्दैन । आज रिपोर्टस् क्लबमा कार्यक्रमको आयोजना गरी गौतमले नेपाललाई चकित पार्नेगरी पार्टीलाई द्रुत गतिमा अघि बढाउने बताउनुभयो ।
आफूले र आफ्नो परिवारले पार्टी चलाउन नपाउने भन्ने कहाँ छ ? भन्दै गौतमले आक्रोश व्यक्त गर्नुभयो । उहाँले नेपालमा कम्युनिष्ट पार्टी जोगाउन र सबैको एकता अभियान चलाउन पार्टीको स्थापना भएको दाबी गर्नुभयो । सबैले आआफ्नो मौलिक हकको प्रयोग गर्न पाउने अधिकार भएकोले कसैले पनि परिवारलाई जोडेर टिप्पणी गर्नु आवश्यक गौतमको भनाइ छ ।
राजनीतिक विश्लेषक टीकाराम भट्टराईले बहुदलीय व्यवस्थामा पार्टी निर्माण गर्न पाउने अधिकार संविधानले प्रत्याभूत गराएको बताउँदै तिनीहरुको अस्तित्व जनताले परीक्षण गर्ने उल्लेख गर्नुभयो ।
निर्वाचन आयोगले संविधानले तोकेका मापदण्ड पूरा गरी आएको खण्डमा दल दर्ता गर्ने गरेको छ । संविधानमा निर्दिष्ट प्रावधानलाई पालना गरे÷नगरेको बुझेर बहुदलीय व्यवस्थामा दल दर्ता गर्न आयोगले सहजीकरण गर्दै आइरहेको प्रवक्ता शालीग्राम शर्मा पौडेलको भनाइ छ ।
दल दर्ता गर्नुमात्रै ठूलो कुरा होइन । मुलुक परिवर्तनका लागि स्वतन्त्र भएरपनि उभिन पाउने अधिकार छ नै । सही सिद्धान्त र जनमैत्री अवधारणाले मात्रै विकास र समृद्धिको बाटो तय गर्ने भएकोले लहड, ईष्र्याले आफैलाई गलत्याउने पक्का छ । सबै पार्टीहरुलाई एकताको सुत्रमा बाँधेर मुलुक विकासको खाका कोर्नु अहिलेको आवश्यकता हो ।