काठमाडौं । कुनैपनि मानिस अन्यायमा पर्यो भने उसको अन्तिम जाने ठाउँ न्यायालय हो । मुलुकका तीन प्रमुख अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका एकअर्कामा अन्तरसम्बन्धित हुन्छन् ।
एकले अर्कोलाई सहयोग र खबरदारी पनि गरिरहेका हुन्छन् । यिनीहरुबीचको सन्तुलनमा उतारचढाव आयो भने मुलुकको प्रणालीमा असर पर्दछ ।
पछिल्लो समय मुलुकको सर्वोच्च निकाय मानिएको न्यायालयभित्रका विकृतिहरुले सीमा पार गरेपछि जनताको भरोसा टुट्न थालेको छ । बचाउने र फसाउने खेलमा श्रीमानहरु लागेपछि पीडित भन्दा पीडक उम्किने गरेका घटना छरपस्ट हुन थालेका छन् । पछिल्लो समय न्यायाधीश र अधिवक्ताबीचको रकम बार्गेनिङ अडियोले न्यायालयको साखमा प्रश्न चिन्ह उठाएको छ ।
जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एशोसिएसनका पूर्व कोषाध्यक्ष एवम् कानुन व्यवसायी रुद्रप्रसाद पोखरेलबीच बैंकिङ कसुरमा पक्राउ परेका इच्छाराज तामाङलाई धरौटीमा छुटाउन २ करोड लेनदेन सम्बन्धी कुरा गरेको अडियो सार्वजनिक भएको हो । यो अडियोले कानूनी पेशामा लागेका व्यक्तिहरुलाई लज्जित बताएको संविधानविद् डा. भीमार्जुन आचार्यको भनाइ छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायपरिषद्को कामकारबाही सही नभएकोले यस्ता घटनाले प्रसय पाइरहेको बताउनुभयो । यो घटना सिकाइ भएकोले आगामी दिनमा न्यायालयलाई पारदर्शी बनाउन काम गर्नुपर्ने उहाँको भनाइ छ ।
अधिवक्ता रामनारायण बिडारीले बार र न्याय परिषद्नै यस्ता घटनाको जिम्मेवार भएकोले घटनामा मुछिएकालाई कडा कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । विदेशमा न्यायाधीशले घुस खान्छ भन्दा नवौ आश्चर्य हुने उहाँको भनाइ छ ।
सांसद लीलादेवी सिटौलाले आजको प्रतिनिधिसभा बैठकमा बोल्दै राज्यको तलब भत्ता खानेहरु रातदिन सेटिङमा लागेको आरोप लगाउनुभयो ।
अडियो सार्वजनिक भएपछि न्याय परिषदले न्यायाधीश कोइरालामाथि छानबिन गर्न न्याय परिषद सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । यसैबीच, पूर्व न्यायाधीश गौरीबहादुर कार्कीले प्रधानन्यायाधीशले पहिलेदेखिनै घुस खाँदै आएको र अहिले समस्या विकराल भएको दाबी गर्नुभयो ।
नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले एउटा घटनालाई लिएर सिंगो न्यायालयमाथि प्रश्न उठाउन नमिल्ने भन्दै कोइराला–पोखरेल घुसकाण्डको सुक्ष्म छानबिन हुने आश्वासन दिनुभयो ।
हरेक मुलुकमा न्यायमूर्तिलाई भगवानको अवतार मानिन्छ, श्रीमानले पुकारिन्छ तर बेला-बेला आउने यस्ता घटनाले श्रीमानको इज्जतमाथि धावा बोलेको छ । न्यायपालिका सुधार्नका निम्ति भएका हालसम्मका प्रयास बालुवामा पानी साबित भएका छन् ।