काठमाडौं । पेट्रोलियम पदार्थमा भइरहेको पटक पटकको मूल्यवृद्धिले जनता मारमा परेका छन् । नेपाल आयल निगमले उपभोक्ताको ढाड सेक्नेगरि एकपछि अर्को पटक गर्दै उच्च मूल्यवृद्धि गरिरहेको छ । पछिल्लोपटक पाँच महिनायताकै सबैभन्दा धेरै वृद्धि भएको छ ।
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपछि अन्य वस्तुमा पनि अत्यधिक मूल्यवृद्धि हुने भएकाले जनताले महँगी थेग्न नसक्ने अवस्थामा पुगेका छन् । यसरी नै पेट्रोलियम पदार्थको मूल्य हप्तैपिच्छे बढ्दै जाने हो भने सबै कुरामा महँगी बढेर जनजीवन निकै कष्टकर हुने कुरामा दुईमत छैन ।
तत्काल सरकारले मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग उठेको छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पछिल्लो समयमा बढेको महँगी सबैभन्दा बढी भएको भन्दै , विद्यार्थीले मूल्यवृद्धि विरुद्ध गर्दै आएको आन्दोलन राजनीतिक फाइदाको लागि मात्र भएको टिप्पणी गर्नुभएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनता मारमा परेको भन्दै सांसदहरूले सरकारको विरोध गरेका छन् । एमाले सांसद पद्मा अर्यालले दिनभर पेट्रोल पम्पमा तेल पठाएर साँझ मूल्यवृद्धि गर्दा करोडौँ रुपैयाँको चलखेल भएको दाबी गर्नुहुन्छ ।
इन्धनको मूल्यवृद्धि बाध्यता हो भन्दै सरकारले ओठे जवाफ फर्काउनु बाहेक अरू विकल्पको उपाय दिन सकिरहेको छैन ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थ नेपालको उत्पादन नभएकाले बाहिरबाट महँगोमा खरिद गर्नुपरेको र सस्तोमा बेच्नसक्ने अवस्थामा सरकार नरहेको तर्क गर्नुभयो ।
अर्थमन्त्री जनार्दन शर्मा मूल्यवृद्धि सरकारका कारण नभई अन्तर्राष्ट्रिय मूल्य शृङ्खलामा आएको समस्याले सिर्जित भएको बताउनुहुन्छ । उहाँले हामीले मूल्य बढाएको हो र ? भन्दै उल्टै प्रश्न गर्नुभएको छ ।
एकै पटक धेरै रकमले मूल्यवृद्धि गरिएकोमा सरकार र आयल निगमको आलोचना भइरहेको छ ।
निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले खाना पकाउने ग्यासमा छिटै दुईथरि मूल्य तोक्ने बताउनुभएको छ । निगम नाफामा जान नसकेको भन्दै मूल्य बढाउनु बाध्यात्मक अवस्था भएको उहाँको भनाइ छ ।
आइतबार मध्यरातमा नेपाल आयल निगमले पेट्रोल एक लिटरमा हालसम्मकै बढी २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँले बढाएको हो। अब पेट्रोल एक लिटरको १९९ र डिजल तथा मट्टितेल १९२ रुपैयाँ पुगेको छ ।
युक्रेन र रसियाबिचको युद्धका कारण विश्वभर इन्धनको मूल्य बढ्दो छ। हिजो मूल्य बढेसँगै नेपालको पेट्रोलियम पदार्थको मूल्य दक्षिण एसियाकै उच्च बिन्दुमा पुगेको हो ।