काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रहित विपरीतका कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने विश्वास दिलाएको बताउनुभएको छ ।
आइतबार उहाँले प्रधानमन्त्रीले आफूहरूसँगको छलफलमा राष्ट्र हित विपरीतका सहमतिमा हस्ताक्षर नगर्ने बताएको जानकारी दिनुभयो ।
अध्यक्ष नेपालले यसका बाबजुद जनतालाई पनि सजग गराइरहनुपर्ने बताउनुभएको छ ।
अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकारको विषयलाई लिएर अहिले विवाद भइरहेको छ । अध्यक्ष नेपालले एसपीपी फिर्ता लिने वा नलिने विषयमा सत्तारुढ गठबन्धनमा विस्तृतमा छलफल नभएको बताउनुभयो ।
तर नेपाली सेनाले एसपीपीमा सहभागिताको विषयमा अमेरिकी दूतावासलाई लेखेको पत्र ठिक थियो कि थिएन भन्ने विषयमा छलफल गर्नुपर्ने उहाँले बताउनुभयो । ।