काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले संसद्को चालु अधिवेशनमा धेरै वटा कानुन बनाइने बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री शर्माले संसद्को चालु अधिवेशनमा धेरै वटा कानुन बनाइने बताउनुभयो ।
उहाँले सहमति जुटेका कानुनहरु अगाडि बढाउने बताउनुभयो । संसदमा अहिले ५३ वटा विधेयकहरू रहेको र ८ वटा अध्यादेशहरूको प्रतिस्थापन विधेयक ल्याइएको पनि उहाँले जानकारी दिनुभयो ।
मन्त्री शर्माले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीमाथि गाली गलौच र हातपात गरेको समाचार बाहिरिएको सम्बन्धमा छानविन हुनुपर्ने बताउनुभयो । उहाँले गल्ती गर्नेहरू कानुनी दायरामा आउनुपर्ने बताउनुभयो ।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले मन्त्री आलेको गाली गलौच प्रकरणमा पार्टीको ध्यान गएको बताउनुभएको छ । उहाँले पार्टीले यस विषयमा छानविन गर्ने पनि बताउनुभयो ।