काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण र कानून मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला बालकोट पुगेका छन्।
गृहमन्त्री र कानून मन्त्री ओली निवास बालकोटमा पुगेका हुन्। गृह मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार नागरिकता विधेयकबारे छलफल गर्न गृहमन्त्री र कानून मन्त्री ओलीलाई भेट्न निवास गएका हुन्।
सरकारले नागरिकता विधेयक अघि बढाउने तयारी गरेको छ। दलीय सहमतिमा नागरिकता विधेयक अघि बढाउने तयारी रहेको र सोही क्रममा प्रतिपक्षी दलका नेता ओलीसँग मन्त्रीहरूले भेटेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
गृहमन्त्री खाँणले नागरिकता विधेयकबारे पटक पटक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहनुभएको छ ।
यसअघि उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि नागरिकता विधेयकबारे छलफल गर्नुभएको थियो ।
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ।